घोराहीका मतदाता भन्छन् : संविधान मास्नेलाई भोट हाल्दैनौं

लोकपथ
39
Shares

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का मतदाताले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नदिने बताएका छन् ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु)सँगको भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेको आरोप लगाए ।

स्थानीय रामकली चौधरीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताइन् । ‘हामीले मुलुकमा शान्ति र समृद्धिको अपेक्षा गरेका थियौं, एमालेले जननिर्वाचित संसदनै मास्न खोज्यो,’ उनले भनिन्, ‘गठन्धनले विकासको गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौं ।’

अर्का स्थानीय सुविन पुनले दाङको समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु योजना बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

अर्का स्थानीय धनपति चौधरीले आफ्नो वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठोकुवासमेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?