नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : सहमहामन्त्री परियार

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आइतवार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धन भित्रका अन्य दलहरुसँग मिलेर सरकार बनाउने बताए ।

उनले गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र कांग्रेसको घोषणापत्रमा नीतिगत रुपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने पनि उल्लेख गरेका छन् । सहमहामन्त्री परियारले निर्वाचन पछि बन्ने सरकारले पार्टीको संकल्पपत्र कार्यान्वयन गर्ने बताए ।

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली कांग्रेसका नेताहरुलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडि बढाएको उनले उल्लेख गरे । गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उनले स्पष्ट पारे । अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उनले जिकिर गरे ।

उनले सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरुले टिकट नपाएको बताए । दलित नेताहरुको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उनले बताए । उनले दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट वञ्चित नगरेको पनि पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?