३५ औँ हिमालय–काराकोरम–तिब्बत वर्कसप पोखरामा हुँदै

लोकपथ
161
Shares

काठमाडौं । नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ‘३५ औँ हिमालय–काराकोरम–तिब्बत वर्कसप नोभेम्बर २ देखि ४ मा पोखरामा सम्पन्न हुने भएको छ ।

नेपाल र विश्वभरबाट २६० भू–वैज्ञानिक र अनुसन्धानकर्ताले आफ्नो अध्ययन र अनुसन्धान उक्त सम्मेलनमा प्रस्तुत गर्ने सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा रहने कुरा सो सम्मेलनका प्रवक्ता इन्द्र लम्सालले बताए ।

सन् १९८५ मा बेलायतको लेसेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिकले पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए ।

त्यसपछि दोश्रो, तेश्रो र चौथो सम्मेलनहरु क्रमशः फ्रान्स, बेलायत र इटालीमा सम्पन्न भएका थिए । भू–वैज्ञानिकहरुका अनुसार हिमालय र तिब्बती क्षेत्रको सकृय धरातलीय अवस्था र यसबाट उत्पन्न हुने प्राकृतिक प्रकोप यसका विविध आयामहरुको अध्ययनमा विगतका वर्षहरुमा भएको वृद्धिले यो सम्मेलनको बार्षिक बैठकको आवश्यकतालाई समेत समर्थन गरेको छ ।

नेपाल भौगर्भिक समाजले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तरताको रुपमा ३५ औँ कार्यशाला पोखरामा आयोजना गरेको र यस्ता सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता नवीन अनुसन्धानको प्रचारप्रसार हुनु र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाहरुको सहि बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तप्रसाद गजुरेल बताउछन् ।

नेपाल भौगर्भिक समाजले सन् २०१२ मा २७ औँ हिमालय–कारकोरम तिब्बत कार्यशाला आयोजना गरि सफलतापूर्वक सम्पन्न समेत गरिसकेको छ ।

यसअघिका ३३ र ३४ औँ सम्मेलन क्रमशः स्विजरल्याण्ड र अमेरिकामा सम्पन्न भएका थिए । सन् २०२१ मा नेपालमा आयोजना गर्ने भनिएको ३५ औँ सम्मेलन कोरोना भाइरसको विश्वव्यापी असरका कारण दुइपटक निर्धारित मितिभन्दा पछाडि सारिएको र कैयौं अनिश्चितताका बाबजुद तयारीको अन्तिम चरणमा प्रवेश गरेकोले उत्साहित रहेको कुरा उक्त सम्मेलनका संयोजक डा. कविराज पौड्यालले जानकारी दिए ।

उक्त ३ दिने सम्मेलन पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको र उक्त सम्मेलनमा स्वदेशी, विदेशी गरि ३०० भन्दा बढीको सहभागिता हुने कुरा आयोजक नेपाल भौगर्भिक समाजका महासचिव डा. लोक विजय अधिकारीले जानकारी दिए।

यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?