झापा । झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको गिरीले बताए ।
एक करोड रुपैयाँ लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका ६ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’ मा पाँच वर्षसम्म अण्डा दिने गरेको तर, १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए । ‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, व्यवसायी गिरीले सुनाए ।
बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताए । तर, जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए । कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए ।
फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा रु ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे । लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुलीबाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए ।
प्रतिबोरा तीन सय रुपैयाँमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ । कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरेका छन् । उनले ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पुर्याएर काम गर्दा नाफा हुन्छ’, उनी भन्छन् ।
कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए । त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया