नेपाली टिमलाई उत्कृष्ट प्रशिक्षणको खाँचो छ : प्रशिक्षक हरिओम श्रेष्ठ

काठमाडौं ।  नेपाली यू-१९ महिला टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले नेपालले पहिलो सहभागितामा नै इतिहास कोर्न सफल भएको बताएका छन् । 

मंगलवार खेलाडीसहित स्वदेश फर्किएका प्रशिक्षकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै सो कुरा व्यक्त गरेका हुन् । 

‘नेपाल पहिलो खेलमा पराजित भए पनि त्यसपछिका खेलमा हामीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल भयौँ, यो हाम्रा लागि गौरबको कुरा हो’ उनले बताए ।  

पहिलो सहभागितामै नेपाल दोस्रो चरणमा पुग्दै इतिहास रच्न सफल भएको पनि उनले जानकारी दिए ।
 
‘हामीहरुले थाइल्याण्डमा भएको एएफसी यू-१९ महिला फुटबलमा उत्कृष्ट खेल खेल्दै दोस्रो चरणको यात्रा तय गरिसकेका छौँ, तर दोस्रो चरणको खेल अझै प्रतिस्पधात्मक र कठिन हुने भएकाले अहिलेदेखि नै राम्रो प्रशिक्षणको खाँचो छ’ उनले थपे ।

 

‘दोस्रो चरणमा अहिलेको भन्दा निकै सशक्त टोली छन्, उनीहरुलाई जित्नु निकै कठिन छ, त्यसैले अहिलेदेखि नै राम्रो प्रशिक्षण गर्नु जरुरी छ’ उनले लोकपथलाई भने । 

दोस्रो चरणको छनोटका खेल सन् २०१९ को अप्रिलमा थाइल्याण्डमै सञ्चालन हुनेछ । कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपालले अघिल्लो चरणमा छनोट भएको हो । 

नेपाल आफ्नो समूहको पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । तर, त्यसपछिको दुवै खेलमा भने जित हात पारेको थियो । नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।

अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने दोस्रो चरणको छनोट पार गर्नुपर्नेछ । च्याम्पियनसिप दोस्रो चरणको छनोटमा ६ समूहका समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्र गरी ८ टोली पुगेका छन् । 

नेपालसहित पहिलो चरणको छनोटबाट अष्ट्रेलिया, इरान, दक्षिण कोरिया, उज्वेकिस्तान, भियतनाम, लेवनान र म्यानमा दोस्रो चरणमा पुगेका हुन् । २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीनबाहेक २७ राष्ट्रले पहिलो चरणको क्वालिफायरमा सहभागिता जनाएका थिए ।

त्यसबाट उत्कृष्ट आठ टोली दोस्रो चरणको लागि छनोट भएका हुन् । आयोजकको हैसियतले थाइल्याण्ड भने सिधै अन्तिम चरणमा खेल्न पाउनेछ । 

अब यी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर दोस्रो चरणको छनोटका खेल हुनेछन् । त्यसबाट दुवै समूहको उत्कृष्ट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

दोस्रो चरणको छनोट खेल २०१९ मार्चमा हुनेछ । दोस्रो चरणबाट छनोट हुने चार, २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीन तथा आयोजक थाइल्याण्ड गरी कुल ८ टोलीबीच  सन् २०१९ को अन्तिममा च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?