निर्वाचन आयोगको निर्णयविरुद्ध डा.तोसिमा कार्की अदालत जाने

लोकपथ
126
Shares

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध डा.तोसिमा कार्की अदालत जाने भएकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी खारेज भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीले उम्मेदवारी दर्ता गर्नुअघिको पत्र सार्वजनिक गर्दै निर्वाचन आयोगको निष्पक्ष निर्णयमा शंका उब्जिएको बताएकी छन् ।

उनले भनेकी छन् आधिकारिक पत्र नपाए पनि समाचारमा म तोसिमा कार्कीको ललितपुर क्षेत्र नं ३ को उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको छु । यसबारे प्रष्ट पार्न यो स्टाटस पोस्ट गर्दैछु ।

निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको छ । यद्यपि त्यसमा थप स्पष्ट हुन मैले न्यायक्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरुसँग परामर्श गरेको थिएँ । उहाँहरु सबैबाट मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएँ ।

२०७९–०५–२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ (तस्विरमा पढ्नुहोस्) तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरुलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो ।

समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नुपथ्र्याे ।

यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ । ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु ।

सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?