गठबन्धनका उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादीका पाँच नेता कारबाहीमा

RSS
351
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी र गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज/अध्यक्षको नाममा विशेष परिपत्र गर्दैै उनीहरूलाई कारबाही गरेका हुन् । भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै यादवले मधेस प्रदेशअन्तर्गतको पर्सा निर्वाचन क्षेत्र नं ४ (१) र मगरले रोल्पा क्षेत्र नं १ (२) बाट पार्टी र गठबन्धनका उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए। माओवादीले पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?