खेलकुदको विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्छौँ : अध्यक्ष उपाध्याय

लोकपथ
299
Shares

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । मोहन्याल युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

‘सडक कृषि धार्मिक तथा पर्यटनको पहिचान मोहन्यालको सम्वृद्धि र विकास हाम्रो अभियान’ भन्ने नारासहित सुचारु भएको प्रतियोगितामा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत हुने आयोजक युवा क्लबले जनाएको छ । प्रतियोगिताको शनिबार गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले उद्घाटन गरेका छन् ।

पालिका स्तरमै ठूलो धनराशीको पुरस्कार राखिएको खेलको उद्घाटन गर्दै अध्यक्ष उपाध्यायले खेल क्षेत्रको विकासबाट मात्रै समाज र राष्ट्रको पहिचान हुने बताए । खेल क्षेत्रको विकासमा सबैको साथ र सहकार्यको आवश्यकता रहेको भन्दै उनले पालिकाले आगामी दिनमा खेलकुदको विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशको पोखरामा भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उस्सुतर्फ स्वर्णपदक जितेर पालिकाको गौरव बढाएकोप्रति स्वर्णपदक विजेता गौरी घर्तिमगरको प्रसंशा गर्दै खेलाडीको प्रोत्साहनका लागि कार्यक्रम ल्याइनेमा जोड दिए । यस्तै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदले आफूले खेलकुद क्षेत्रलाई विषेश चासोका रुपमा लिएको बताए ।

उनले पालिका स्तरमा रहेका विद्यालय क्षेत्रमा समेत खेलकुदको विकासमा जोड दिँदै चालू आर्थिक वर्षको बजेटमा केही बजेट रकमको व्यवस्था गरिएको बताए । उनले अनुशासन नै खेलाडीको गहना भएकाले शान्तिपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार ४१ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेलाई ४५ हजार ४५ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिनेछ ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद र दोस्रो हुनेलाई १५ हजार नगद प्रदान गरिनेछ । भलिबल प्रतियोगितामा १३ टीमको सहभागिता रहेको छ भने हाजिरी जवाफमा ११ टीम दर्ता भएका छन् । उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष गोर्खबहादुर बोहरा (सागर) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव भरतकुमार शाहीले गरेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष नवीन देवकोटाको स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?