आठौँ पुष्पलाल स्मृती ब्याडमिन्टन कार्तिक अन्तिम साता

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको संझनामा नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौँ पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कार्तिक २७ गतेबाट काठमाण्डौमा हुने भएको छ ।

२०६८ सालबाट -याङकीङ्ग प्रतियोगिताबाट शुरु गरिएको प्रतियोगिता आठौँ संस्करण सम्म आई पुगेको हो ।

त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु-१७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथी) जोडी गरि ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिए । 

करिब १२ लाख रुपैयाँ खर्च हुने यो प्रतियोगितामा पुरुष/महिला एकलमा शिर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगल तर्फ २०, १० र ५ हजार प्राप्त गर्ने छन् । 

त्यस्तै यु-१७ तर्फ छात्र तथा छात्रा दुवै तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५/५ हजार सहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्ने छन् । यसैगरि भेट्रान्स तर्फ बिजयी शिर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाण पत्रका साथै खेलकुद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २ सय खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको सातौँ संस्करणमा पुरुष एकलमा सेनाका रत्नजित तामाङ्ग, महिला तर्फ पूर्वाञ्चलकी जेशिका गुरुङ्ग, पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी तथा महिला तर्फ नङ्गशल तामाङ्ग र अनु राईको जोडी बिजयी भएका थिए । 

त्यस्तै यु-१७ मा छात्रतर्फ सेनाका प्रफुल महर्जन र छात्रा तर्फ पूर्वाञ्चलकी जेसिकाले बाजी मारेका थिए । यस्तै भेट्रान्स तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?