ललितपुर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर

लोकपथ
28
Shares

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी अयोग्य ठहर भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको हो ।

डाक्टर कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले उनको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएको थियो । सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानुनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजातहरू प्राप्त भएको आयोगको ठहर छ ।

उम्मेदवार डाक्टर कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा उनको कुनै मासिक तलब नहुने भएपनिउपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डाक्टर कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएकाले उम्मेदवार बन्न अयोग्य ठहर गरिएको निर्वाचन आयोगले बताएको छ ।

नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को ख (६) मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधासमेत सम्झनु पर्छ भन्ने व्यवस्थासमेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले डाक्टर कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्तालगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको (घ) मा कुनै संघीय कानूनले अयोग्य नभएको र (च) मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछापसमेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डाक्टर कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिएको देखिएकेले उनले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन नआएको आयोगको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम डाक्टर कार्कीको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?