धार्मिक होइन, विकासका मुद्दामा बहस गरौँ : इश्तियाक राई

लोकपथ
65
Shares

बाँके । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन् । क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन् ।

‘मैले यसकारण तपाईंहरूसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरूअनुसार काम गर्ने प्रयास गरेँ । कति गरेँ त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरूको साथ चाहिएको छ ।’

उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर अनि मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरू लागिपरेको भन्दै त्यस्ता षड्यन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह गरे । ‘हामी विकासका मुद्दामा बहस गरौं भनिरहेछौँ । के के काम गर्ने भनेर त्यसमा प्रतिष्पर्धा गर्न खोजिरहेका छौँ’ उनले भने ‘तर केही उम्मेदवारहरू तपाईंकै घरदैलोमा आउँछन् र मात्रै धर्मको ठेकेदारी देखाउँछन् । त्यस्ताहरूबाट सचेत हुनुपर्छ ।

अब धार्मिक र सामाजिक सद्भाव खलबल्याएर भोट पाइनेपवाला छैन ।’ राईले कुनै पनि हालतमा आफ्नो क्षेत्रमा सामाजिक र साम्प्रदायिक सद्भाव भड्किन नदिने पनि प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?