रिलिजअघि नै ‘चंगाचेट’ ले काट्यो केक, संगीतकारलाई पचास हजार

काठमाडौं । चलचित्र ‘चंगाचेट’ को गीत ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १ करोड ५० लाखले हेरेको भन्दै केक काटेको छ । 

निर्माण टिमले आज मंगलबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै केक काटेर खुशियाली साटेको हो ।

दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘चंगाचेट’ को यो गीत युट्युबमा दर्शकले रुचाएका छन् । आउँदो शुक्रवारबाट रिलिज हुने चलचित्रको शीर्ष गीत हिजो सार्वजनिक गरिएको थियो । डेढ करोडले हेरेको ‘गोजीमा दाम छैन’ भने केही महिनाअघि रिलिज गरिएको थियो । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

कार्यक्रममा फिल्मले करोड भ्युज कमाएको भन्दै यसका गीतकार तथा संगीतकार राजनराज शिवाकोटीलाई रुपैयाँ ५० हजार प्रदान गरियो । फिल्मका बारेमा बोल्दै निर्माता माधव वाग्लेले फिल्म दर्शकको मन जित्ने स्वादको भएको बताए ।

माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा कथा प्रदीप भारद्वाजले लेखेका हुन् । डार्क कमेडी भनिएको फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ । चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, सुरक्षा पन्त, रविन्द्र झा, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?