गठबन्धनलाई मतदान नगर्ने भए ‘न्याउरी मारी पछुतो’ हुन्छ : कांग्रेस नेता नेपाल

लोकपथ
4.4k
Shares

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य तथा पूर्व केन्द्रीय सदस्य हरि प्रसाद नेपालले गठबन्धनलाई मतदान नगरे ‘न्याउरी मारी पछुतो’ हुने बताएका छन् । उनले अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएर दुई–दुई पटक संसद विघटन गरेर जनताको अभिमतको कदर गर्न नसकेको बताए।

गठबन्धन दलले पाल्पाको रिब्दिकोट गाउँ पालिकाको भैरबस्थान र खस्यौलीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले बिपक्षीको अनावश्यक भ्रममा नपर्न आग्रह गरेका हुन् । पूर्व साँसदसमेत रहेका नेता नेपालले जनताको अभिमतलार्इ गठबन्धनले कदर गर्नेसमेत बताएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले सहमति सहकार्य र एकताको सन्देश दिन गठबन्धन गरेको बताउँदै विपक्षीले गरेको अनावश्यक भ्रममा नपर्न आग्रह गरे।

गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पाको विकासमा जहिले सुकै कटिबद्ध भएर लागेको बताए। उनले संविधान विरोधीहरुका विरुद्ध गठबन्धन स्वाभाविक, प्रभावकारी र दिगो हुने बताए।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका नेता पाण्डेयले सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकायमाथि कब्जा गर्न थालेकाले त्यसका विरुद्ध गठबन्धन भएको बताएका हुन् ।

नेता पाण्डेयले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ गरेको बताए। उनले त्यसको आधारस्तम्भ नै अहिलेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय बाम–लोकतान्त्रिक गठबन्धन भएको बताए।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ (२) का उम्मेदवार तुलाराम घर्तीले यो गठबन्धन ऐतिहासिक आवश्यकता भएको र असंवैधानिक एवम् प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता घर्तीले कांग्रेस र कम्युनिस्ट मिलेरै छयालीस र बैसठ्ठी–त्रिसठ्ठी सालको जनआन्दोलन गरेका भन्दै यिनै शक्तिबीचको सहमतिबाट संविधानसभाले यो संविधान बनाएको बताए। उनले लोकतन्त्र र संविधानका आधारभूत मूल्य र मान्यता रक्षाको सवालमा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, एकीकृत समाजवादिका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र बिक, रास्टि«य जनमोर्चाकि नरमती सिञ्जाली, नेपाली कांग्रेस रिब्दिकोट गाउँपालिका सभापति रामचन्द्र पाण्डेलगाएतले गठबन्धनले राजनीतिक स्थायित्वलाई टेवा दिन सक्ने बताएका थिए । सोही कार्यक्रम अन्तर्गत बाम–लोकतान्त्रिक गठबन्धन पाल्पाले भैरबस्थानको भार्कोट, रानीठाटी , ढेकुलडाँडा, खस्यौलीको हार्थोक लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?