विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने छन् : प्रदीप यादव

लोकपथ
26
Shares

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने विभिन्न टोलका मतदातासँगको भेटघाटमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका प्रदीप यादव व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई यादवले निरन्तरता दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का साझा उम्मेदवार यादवले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए । उनले भने, “जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो, अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् ।”

पहिलो पटक निर्वाचित हुँदा पनि आफूले उल्लेख्य काम गरेको दाबी गर्दै यादवले अब पुनः अर्कोपटक निर्वाचित गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताए । उनले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफूले जित्नुपर्ने उनले बताए ।

छोटो समयका लागि मन्त्री हुँदा पनि वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उनले ति योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाइ छ ।

यादवले अहिले केहि बहुरुपियाहरुले भेष बदलेर जनतलाई प्रलोभन पार्ने षडयन्त्र गरिरहेको भएपनि जनताले चुनावमा उनिहरुको पर्दाफास गरिदिने ठोकुवा पनि गरे । यादवले भने, ‘अब जनतालाई चिप्लो भाषण होइन, सिरिफ काम चाहिन्छ काम, काम गर्ने नै जनताको रोजाइ बन्छ, त्यसैले बहुरुपियाहरुले दिवा सपना नदेखे हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?