उम्मेदवारहरुको चुनिन पाउने अधिकार हनन् हुनुहुँदैन : प्रवक्ता पौडेल

लोकपथ
26
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चुनिन पाउने अधिकारमाथि नै हनन् हुने खालका सामग्रीहरु पोष्ट गरिरहेका बेला आयोगको यस्तो भनाइ बाहिर आएको हो । कसैप्रति लाञ्छना लगाउने, कसैप्रति दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारहरुको चुनिने अधिकारमाथि नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

शुक्रवार प्रवक्ता पौडेलले उम्मेदवारहरुलाई चुनिन पाउने अधिकारबाट बञ्चित गराउन नहुने स्पष्ट पार्दै आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन् गर्न नमिल्ने भनेका छन् ।

आयोगले उम्मेदवारहरुमाथि गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्ने लगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुनः निर्देश दिएको छ । आयोगका प्रवक्ता पौडेलले छद्म नामबाट कसैले पनि उम्मेदवारहरुको चरित्र हत्या गर्न नपाउनेसमेत बताए । उनले सीमा भित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारहरुलाई भनिएको बताएका छन् । सम्बन्धित टेक कम्पनीहरुसँग सम्पर्कमै रहेकाले उनीहरुले सामाजिक सञ्जालमा गरेको खर्चको विवरण समेत लिईरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहिता वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसका कडाईका साथ पालना राजनीतिक दल र त्यसका उम्मेदवारहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?