देशभर चिसो महसुस हुन थालेको मौसमविद्को भनाइ

लोकपथ
91
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन्। तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए ।

उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाँही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरे। तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए ।

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पार्दै अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए। शुक्रवार उनले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।

उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पार्दै उनले जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ ।

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्न पूर्वतयारी गर्न सुझाव पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?