६ महिनाभित्रै गौतमबुद्ध बिमानस्थलको ‘रन वे’ कालोपत्रे गरिसक्छौं : पर्यटनमन्त्री

भैरहवा ।  भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको 'रन वे' पिच गर्ने काम शुरु भएको छ । 

विमानस्थलको 'रन वे' पिच गर्ने काम मंगलवारबाट शुरु गरिएको हो । आगामी ६ महिनाभित्रमा रन वे विचको काम सम्पन्न गर्ने उद्देश्यका साथ शुरु गरिएको पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताए।

आगामी सन् २०१९ अगष्टसम्ममा विमानस्थल रन वेको निर्माणको कार्य सम्पन्न गर्दै सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए । विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार ठेकेदारले चार महिनाभित्रमा नै रन वेको कालोपत्रको काम सम्पन्न गर्ने बताए । 

विमानस्थलको धावनमार्गको लम्बाई तीन किलोमिटर रहेको पनि उनले बताए । ‘विमानस्थल रन वेको काम विहान ६ बजेदेखि राति १२ बजेसम्म तिव्र गतिमा भइरहेको छ, चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन  र स्थानीय ठेकेदारले दुर्इ सय कामदार परिचालन गरेर रातिसम्म तिव्र गतिमा काम भइरहेको छ’ उनले भने ।

 साथै उनले विमानस्थल रन वे निर्माणका लागि ७० जना चिनियाँ र १ सय ३० जना नेपाली कामदार खटिएको पनि जानकारी दिए । 

त्यस्तै विमानस्थलको कन्ट्रोल टावर निर्माणको काम पनि धमाधम भइरहेको छ । हाल सातौं तल्लाको काम भइरहेको पनि अधिकारीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?