रुपन्देही– १ : भुसाल र विश्वकर्माबीच कडा भिडन्त, कसलाई कति सहज ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको समयावधि नजिकिँदै छ । उसो त राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु भोटमाग्न जनताको घरदैलोमा पुग्न थालेका छन् ।

यसपालीको देशभरको चुनावी परिदृश्य अलि रोचक देखिँदैछ । उम्मेदवारहरु घरमा मात्र नभएर खेतबारी र मेलापातमा समेत मतदाता भेट्न धाइरहेका छन् । कार्यकर्ता भेटघाट, अन्तरक्रिया यतिबेला आसन्न निर्वाचनका उम्मेदवारहरुको दिनचर्या बनेको छ ।

यस्तै, परिदृश्य रुपन्देही १ मा पनि देखिन्छ । नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल यहाँ प्रतिस्पर्धामा छन् । उनको बलियो प्रतिस्पर्धीको रुपमा एमालेका छविलाल विश्वकर्मा छन् ।

रुपन्देही ३ बाट चुनाव लड्न लागेका भुसाललाई टिकट नदिएर एमालेले राप्रपाका दीपक बोहोरालाई सघाउने निर्णय गर्यो । त्यसबाट रुष्ट बनेका भुसाललाई भने यता गठबन्धनले साथ दिएको छ । त्यसैले यो क्षेत्रको निर्वाचन निकै रोचक बन्ने देखिन्छ ।

भुसाल नेपाली राजनीतिमा वैचारिक नेताको रुपमा चिनिन्छन् । २०५३ को उपनिर्वाचन र २०७४ मा सम्पन्न आम निर्वाचनबाट दुई पटक संसद छिरिसकेका भुसाल यो बीचमा मन्त्रीसमेत बने । यता भुसालका प्रतिद्वन्दी विश्वकर्माले पनि दुई पटक संसदीय यात्रा पुरा गरेका छन् । ०६४ मा समानुपातिकबाट सांसद बनेका उनी ०७४ मा प्रत्यक्ष निर्वाचित भएका हुन् । विश्वकर्माले ०७४ मा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकलाई ७ हजार ३ सय ८० फराकिलो मतान्तरले पराजितका थिए ।

पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

भुसाल र विश्वकर्मा एउटै पार्टीमा हुँदा सहकर्मीको भूमिकामा रहेपनि अहिले भने चुनावी प्रतिस्पर्धीको रुपमा देखिएका छन् । त्यसैले भुसाल र विश्वकर्माबीच यहाँ कडा भिडन्त हुने देखिन्छ । भुसाललाई गठबन्धनको साथ भएकाले विश्वकर्माको तुलनामा केही सहज छ । यद्यपि, २०७४ को निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका विश्वकर्मा पनि कमजोर भने छैनन् ।

क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट घनश्याम भुसाल, एमालेबाट छविलाल विश्वकर्मासँगै विभिन्न राजनीतिक दलहरुबाट पनि उम्मेदवारी दर्ता भएको छ । यहाँ जनमत पार्टीबाट कैलाश गुरुङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट तुलसीराम धुख्वा, जनमुक्ति पार्टीबाट दलबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट धनिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेश बहादुर पछाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट राकेश बानियाँ, विशाल हाम्रो नेपाली पार्टीबाट बासकोटा, मंगोल नेशनलबाट शिवबहादुर गुरुङ र स्वतन्त्र तर्फबाट लक्ष्मण भण्डारी चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

स्थानीय निर्वाचनले के भन्छ ?

रुपन्देही क्षेत्र नम्बर–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ लाई समावेश गरिएको छ । वैसाखमा सम्पन्न स्थानीय निर्वाचनलाई नियाल्ने हो भने एमालेका वडाध्यक्षहरु पाएको मत बढी छ । सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीका वडाध्यक्षको कुल ३८ हजार ७ सय ६९ भोट हुँदा एमालेसहितको गठबन्धनको मत ५१ हजार ६ सय ४१ छ ।

त्यसैले यो क्षेत्रमा जित निकाल्न भुसाललाई सहज भने छैन । एक त स्वतन्त्र उम्मेदवारी अर्को कांग्रेसको भर पर्नु पर्ने भएकाले भुसालमाथि चुनौतिको पहाड ठूलो छ । त्यसैले यो क्षेत्रमा विश्वकर्मालाई पराजित गरेर संसदको यात्रा तय गर्न भुसाललाई सहज भने छैन । उनले जित निकाल्न एमालेको मतले पनि साथ दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?