सोरठी र देउसी भैलोको संरक्षणमा जुटे स्थानीय

RSS
77
Shares

ग्लेश्वर । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दी चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसी भैलो संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् ।

त्यसैगरी बेनीनगरपालिका २ बगरफाँटका अग्रजले मौलिक देउसी भैलोको महत्व र भाव नयाँ पुस्तालाई हस्तान्तरण गर्न देउसी भैलोको आयोजना गरेर संरक्षणमा जुटेका हुन् । मौलिक थाली नाँचको उद्गमस्थल चिमखोला, मगर संस्कृतिको स्थल मानिने बेगखोला, शेरपुजा र पाइजाको पुख्र्यौली गाउँ पाखापानी र छन्त्याल समुदायको खुला सङ्ग्रहालय मानिने ठाडाखानीका पाको पुस्ताले लोप हुँदै गएको सोरठी संस्कृतिलाई बचाउन नयाँ पुस्ताका बालबालिका र युवायुवतीलाई प्रशिक्षण दिन सुरु गरेको स्थानीय ७६ वर्षीय टेकवहादुर छन्त्यालले बताए ।

उनले भने, ‘अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ ।’ सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । छन्त्यालका अनुसार सोरठी गीत प्रदर्शनलाई विभिन्न ठाउँबाट माग आउने गरेको छ । गाउँमा भूमे सोरठी संरक्षण समिति नामको संस्था नै गठन गरेर सोरठी संरक्षणमा जुटेको बेगखोलाका दलबहादुर पुनले बताए । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको व्यवस्था गरेको छ ।

कलाकारमा गाउने समूह, मादले, मारुनी आदि आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघाउँछन् । मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेलापर्व र उत्सवमा सोरठी प्रस्तुत गरिन्छ । सोरठी गीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ ।

तर, पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरु बताउँछन् । क्षेत्री र ब्राह्मण समुदायको बाहुल्य बसोबास रहेको बगरफाँटमा पनि स्थानीय दुर्गाबहादुर थापा, पार्वती शर्मा लगायतको ज्येष्ठ नागरिकको पहलमा मौलिक देउसी भैलो संरक्षण अभियान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?