साफ यू-१५ फुटबल : समूह ‘ए’को उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल जारी साफ यु–१५ फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएपनि समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । यता बंगलादेश पनि समूहको विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । 

खेल शुरु भएको २ मिनेटमा नै बंगलादेशले खेलमा अग्रता लिएको थियो । इन्बि अहमेदले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै नेपालले बराबरी गोल फर्कायो ।

खेलको ३६ औँ मिनेटमा नेपालका  राकेश विश्वकर्मालाई बंगलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टी हान्ने अवसर पाएको थियो । सो मौकालाई सदुपयोग गर्दै जान लिम्बुले गोल गरे र खेललाई १-१ गोलको बराबरी ल्याउन सफल भए । 

दोस्रो हाफको शुरुमा नै बंगलादेशका लागि अहमेदले गोल गरे । निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-१ को हार बेहोरेको हो ।

बंगलादेश ६ अंक तथा नेपाल ३ अंकका साथ अघिल्लो चरणमा पुगेको हो । अब नेपालले फाइनल प्रवेशको लागि समूह ‘बी’को विजेता पाकिस्तानसँग तथा बंगलादेशले भारतविरुद्ध खेल खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?