‘पीपीएल’ क्रिकेट : चितवन राइनोजको लगातार दोस्रो हार, पोखराको शानदार जीत

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’ अन्तर्गत चितवन राइनोजले लगातार दोस्रो हार बेहोरेको छ । 

पोखरा रंगशालामा सोमवार भएको दोस्रो खेलमा कप्तान पारस खड्काको टिम चितवन पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको हो । १ सय ४१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पोखराले १७ दशमलब २ ओभरमा मात्र ५ विकेटको क्षतीमा निर्धारित लक्ष्य पुरा गरेको हो ।

पोखराले खेलको शुरुवाती समयमा नै रनको खाता नै खोल्न नपाउँदै महत्वपुर्ण २ विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेख शुन्य रनमा नै पेभेलियनमा फर्किए । पोखराको पारी  शन्नी पटेल र रोहितकुमार पौडेलले सम्हाले ।

उनीहरुले दुवैले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । रोहित १९ रन बनाउँदै आउट भए । त्यस्तै शरद भेषवाकर ३७ रन तथा  रविन्द्र सिंहले ६५ रन जोडे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४० रनको योगफल तयार पारेको थियो । चितवनले शुरुवाती १८ रनमा नै पहिलो विकेट गुमाएको थियो ।

चितवनका लागि ओपनर ब्याट्सम्यान हरिशंकर शाह मात्र ३ रन बनाएर पेभेलियनमा फर्किए । त्यस्तै अनिल शाहले १६ रन जोडे । ५७ रनमा तेस्रो विकेट गुमाएको चितवनले दवावमा आएको थियो । 

चौंंथो विकेटका लागि कप्तान पारस खड्का र सन्नी पटेलले ५३ रनको साझेदारी गरे । पारसले ४४ रन तथा पटेलले ४६ रनको योगदान दिए । चितवनले १ सय १० रन बनाएको स्थितीमा चितवनको चौंथो विकेट गुमायो । 

यता बलिङतर्फ पोखराका विक्रम भुषालले दुई विकेट लिए । पोखरा पल्टनले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । जितपछि पोखराले ४ अंक बनाएको छ ।   बुटवल र काठमाडौंले पनि समान ४-४ अंक नै बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?