‘पीपीएल’ क्रिकेट : काठमाडौं रोयल्सको अपराजित यात्रा कायमै

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटमा काठमाडौं रोयल्सले लगातार दोस्रो जीत हात पारेको छ । 

पोखरा रंगशालामा सोमवार भएको पहिलो खेलमा काठमाडौंले विराटनगर टाईटन्सलाई ५ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । १ सय ५० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौंले १९ दशमलब २ ओभरमा मात्र ५ विकेटको क्षतीमा निर्धारित लक्ष्य पुरा ग¥यो । 

काठमाडौंका लागि गौरव तोमारले सर्वाधिक ६६ रनको योगदान दिए , तोमारले अमित श्रेष्ठसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । अमित ३५ रन बनाएर पेभेलियनमा फर्किए । यता कप्तान ज्ञानेन्द्र मल्लले १७ रनको योगदान दिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १ सय ४९ रनको योगफल तयार पारेको थियो ।  विराटनगरका लागि मोहमद जायदले अर्धशतकीय पारी खेले । उनले  ६७ रन बनाए ।  

सुनील धमलाले ३० रनको योगदान दिए । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए । 

राजेश पुलामी मगरले ३० रन बनाएर पेभेलियनमा फर्किए ।  यता काठमाडौंका लागि शुसन भारी, बसन्त  रेग्मी र गौरव तोमारले समान २-२ विकेट लिन सफल भए । पहिलो खेलमा धनगढी ब्लुजलाई हराउँदै महत्वपूर्ण २ अंक जोडेको थियो ।

काठमाडौंले लगातार दोस्रो खेलमा जीत दर्ता गराउँदै ४ अंक बनाएको छ । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?