नेपाल टेलिकमद्वारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात

लोकपथ
26
Shares

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुलाई आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा आज (मंगलबार)देखि सञ्चालनमा ल्याएको छ । यो सेवा कात्तिक ८ अर्थात आजदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ ।

अफर अन्तर्गत दुई हजार,पाँच हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रुपैयाँ मात्र लाग्नेछ ।

त्यसैगरी २५ सय रुपैयाँमा पाँच दिन भित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र पाँच हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार वटा एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नगरिएको कम्पनीले बताएको हो ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने बताइएको छ । सेवा प्रयोग गर्नका लागि (ग्रुप एसएमएस एनटिसी डट नेट डट एनपी) लगइन गरी प्याकेज खरिद गर्न सकिने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्कमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?