काठमाडौं । आज यमपञ्चकको चौँथो दिन अर्थात् गोवद्र्धन पूजा । यता नेवारी समुदायले भने म्हः पूजा र नेपाल सम्वत मनाउँदै छन् । त्यसैले यहाँ म्हः पूजाबारे चर्चा गरिएको छ । म्हः पूजा भनेको आफू वा स्वयमलाई पूज्ने पर्व हो । हरेक वर्ष नेपाल संवतका दिन नेवार समुदायले म्हः पूजा गर्छन् ।
यो पर्व नेपालमा मनाइने नेवार समुदायको मौलिक पर्व हो । यस दिन घरको पाको व्यक्तिले बिमिरो, हलुवावेद, ओखरदेखि लिएर विभिन्न फलफूल, फूल, टिका, मैनबत्ती लगायतको प्रयोग गरेर देवीदेउतालाई पूजे जस्तै व्यक्तिलाई पुज्ने गरिन्छ । आफू नै सबैभन्दा सर्वश्रेष्ठ, ठूलो मानिने भएकाले र आफू रहेमा सकथोक छ नभए केही छैन, आफ्नो लागि आफू नै हो भन्ने अर्थ दिने भएकाले आफूलाई सम्मान गर्नु पर्ने धारणाले म्हः पूजा गरिन्छ ।
जबसम्म व्यक्तिले आफूलाई शुद्ध पवित्र गर्दैन तबसम्म उसबाट गरिएका क्रियाकलाप पवित्र नहुने मान्यताले नेवारी समुदायले नयाँवर्षको अगामनसँगै यो पूजा गर्दछन् । यस पर्वमा परिवारका सबै सदस्यले अनिवार्य गर्नुपर्ने हुन्छ । साना–ठूला, महिला पुरुष सबैले आफूलाई पूजा गर्नुपर्छ । जसकारणले परिवारको सद्भाव बढ्नु र एकअर्काबीचको सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास छ ।
नेवारी समुदायले हरेक पर्वमा घरमै पकाएको खाद्यान्न परिकार, मिठाईहरु प्रयोग गर्दछन् । यसैगरी म्हः पूजामा पनि चामलको पिठोको रोटी, फलफूल लगायत विभिन्न सामग्रीहरुको प्रयोग गरिन्छ । आजको दिन आत्मत्वलाई बोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हः शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा व्यापक बोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ ।
जस्तै छित म्हः फुला ? अर्थात् तपाईंलाई सञ्चै छ ? म्हः फु अर्थात् सञ्चै छ । म्हः मफु अर्थात् सञ्चो छैन । म्हः अर्थात् देहवाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्हः को प्रयोग हुँदैन । यसै चेतना अनि स्वःतत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हःपूजा मनाउने चलन रहेको छ ।
नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ ।
कसरी गर्ने म्हः पूजा ?
म्हः पूजा गर्दा माटोले लिपेको ठाउँमा सानादेखि ठूला व्यक्तिको क्रम मिलाई बस्ने गरिन्छ । चामलको पिठोले मण्डल बनाइन्छ । मण्डलको अगाडि राखेर बसिन्छ । त्यो मण्डलमा बत्ति बालेर फूल, माला, टिका, बिमिरो, ओखर लगायतका देवीदेउतालाई पुजा गर्दा प्रयोग हुने सामाग्रीले सजाइन्छ ।
ती सबै सामानलाई माना, पाथीमा राखेर टाउकोबाट खन्याउने गरिन्छ । पूजा गरिएको सामान अर्को दिन विसर्जन गरिन्छ । बेलुकाको समयमा पूजा समापन गरेपछि परिवारसँग बसेर मिठोमसिनो खाएर पर्व मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया