मन्त्रिपरिषद् बैठक : मलेसियासँग हुने श्रम सम्झौताको ‘एमओयु’ स्वीकृत

काठमाडौं । नेपाल सरकारले मलेसियासँग गर्ने श्रम सम्झौता ‘एमओयु’ स्वीकृत भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको ‘एमओयु’लाई स्वीकृत गरेको हो । 

विगत लामो समयदेखि नेपाली कामदारलाई  मलेसिया पठाउन रोक लगाएको नेपाल सरकारले 'एमओयु'मा हस्ताक्षर गरेसँगै पुन वैदेशिक रोजगारमा जान पाउने भएका छन् । 

साथै दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गर्ने छन् । 

गत महिना श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया गएका थिए । असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको 'एमओयु'मा सहमति जुटेको थियो ।

रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रममन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए । 

बैठकले भोलि ‘सोमवार’ देखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई समेत स्वीकृत गरेको छ।

भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?