‘एएफसी’ यू-१९ महिला फुटबल : पाकिस्तानमाथि नेपालको शानदार जीत

काठमाडौं । जारी ‘एएफसी’ यू-१९ महिला फुटबल छनोट च्याम्पियनसिपमा नेपालले शानदार जीत हात पारेको छ । 

थाइल्याण्डको चोनबरी रंगशालामा आइतवार भएको समुह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलको फराकिलो अन्तरले हराएको हो । खेलको शुरुवाती समयदेखि नै पाकिस्तानलाई दवावमा राखेको नेपालले पहिलो हाफमा ३ गोल गरेको थियो । 

खेल शुरु भएको २ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मञ्जली योञ्जनले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । ३२ औँ मिनेटमा सम्झना लावतीले तथा ३८ औ मिनेटमा एलिशा जिम्बाले एक-एक गोल गरिन् । 
 
त्यस्तै, ४८ औँ र ५४ औँ मिनेटमा पुजा रानाले दुई गोल गर्न सफल भइन् । यता ५७ औँ, ७४ औँ मिनेटमा निशा थोकरले गोल गरिन् । ८५ औँ मिनेटमा निशाले ह्याट्रिक पुरा गरिन् । खेल सकिनै लाग्दा सरु लिम्बुले गोल गर्दै नेपाललाई शानदार जीत दिलाइन् । 

जितपछि नेपालले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?