प्रदेश २ मन्त्रिपरिषद्को बैठक : राजधानी र नामाङ्कन तोक्न आयोग गठन

काठमाडौं । प्रदेश नम्बर २ को नामाकरणको विषयलाई लिएर प्रदेश सरकारको आलोचना भइरहेको बेला प्रदेशको नाम र स्थायी राजधानीको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन गरेको छ ।

आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको हो । 

प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषय टुङ्गो लगाउन बैठकले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको छ । आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

आयोगले ४५ दिनभित्र प्रदेशको राजधानी र नामाङ्कनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा व्यक्तिहरुसँग सल्लाह र सुझाव संकलन गर्ने, आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा सुझाव सहितको प्रतिवेदन पेश गर्ने पनि कानून मन्त्री यादले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?