कपिलवस्तुमा करवाचौथ पर्व सम्पन्न

शम्भू माली / कपिलवस्तु । कपिलवस्तुका हिन्दु महिलाले करवाचौथ पर्व मनाएका छन् । 

हिन्दू विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै पानी पनि नखाई निराजल बसी धुमधामका साथ करवाचौथ पर्व मनाएका हुन् । 

आफ्ना पतिको सुख, समृद्धि, दीर्घायु एवं अटल सौभाग्यको कामना गर्दै निराहर व्रत बसेर यो पर्व मनाउने गरिन्छ ।

शनिवार दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको अर्घ दिएपछि भोजन गर्ने गरिन्छ । साँझको समयमा सोह्रशृङ्गारमा सजिएकी व्रतालुले शिव, पार्वती, कार्तिकेय, गणेश तथा चन्द्रमाको पूजा गर्ने गर्दछन् ।

शनिवार साँझको समयमा चन्द्रमालाई अर्घ दिएपछि आफ्नो पतिको चलनीमा मुख हेरेर यो पर्व समापन गरेका छन् । कात्तिक कृष्णपक्षको चतुर्थी तिथिका दिन पर्ने करवाचौथ पर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ ।

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान् प्राप्त गरेपछि अखण्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ ।

१२ वर्ष अथवा १६ वर्षसम्मको अवधि पूरा भएपछि यस पर्वलाई उद्यापन उपसंहार गर्ने चलन रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?