दीपावलीमा चितवनको सुरक्षा व्यवस्थाः देउसीभैलो र मदिराजन्य बिक्रीको लागि समय तोकियो

काठमाडौं । नजिकिदै गरेको दीपावलीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले राति १० बजेपछि देउसीभैली खेल्न रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न र दीपावलीको समयमा मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजे नै बन्द गर्न निर्देशन गरेको छ ।

दीपावली र छठपर्वहरुलाई मर्यादित र अनुशासित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको हो । 

यस्तै, लोकमार्गका लाइन होटल बाहेक अन्य होटल र रात्री मनोरञ्जन व्यवसायहरु राति १० बजेसम्म बन्द गरिसक्न पनि निर्देशन समेत दिएको छ । 

कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण र पैठारी नगर्न सचेत गराउँदै प्रशासनले गरेको सार्वजनिक आव्हानमा स्वीकृति विना चिट्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेला र महोत्सवको प्रदर्शनी आयोजना गर्दा पूर्व स्वीकृति लिइ सर्त पूरा गरी सञ्चालन गर्नुपर्ने, व्यवसायीहरुले अनिवार्य रुपमा मूल्य सूची राख्नुपर्ने, जुवातास, कौडा, सट्टेवाजीलगायत जुवाजन्य खेल नखेलाउन पनि निर्देशन दिएको छ ।  ।

चाडपर्वको बेला चितवन जिल्लामा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गर्ने प्रशासनले जनाएको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?