‘पीपीएल’ क्रिकेट : धनगढी ब्लुजको पहिलो जीत, विराटनर टाइटन्सको लगातार दोस्रो हार

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटमा धनगढी ब्लुजले पहिलो जीत हात पारेको छ । 

पोखरा रंगशालामा आइतवार भएको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । १ सय ८३ रनको  विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको विराटनगर टाइटन्सको पारी मात्र १ सय ४ रनमा समेटिएको थियो । 

विराटनगरका लागि सुनिल धमलाले २१ रन तथा मोहमद जायदले १९ रन जोडे ।  त्यस्तै एन्ड्रयु शुबिक्सनले १८ रन र कप्तान सन्दीप लामिछानेले १० रनमा बनाए । धनगढीका डान लरेन्सले ३ तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिन सफल भए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । धनगढीले ८ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । त्यस्तै १३ रनमा दोस्रो विकेट गुमायो । 

धनगढीका लागि सन्दिप सुनारले ९ तथा डेन लरेन्स दुई रन बनाएर पेभेलियनमा फर्किए । धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३८ बलमा   ४ छक्का र २ चौका प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । कप्तान ऐरी र पिटरले चौंथो विकेटको लागि ६० रनको साझेदारी गरेका थिए । 

सन्दीप जोराले १२ रन, रोविन क्षेत्रीले १० रन, योगेन्द्रसिंह कार्कीले ६ रन तथा मन्जित श्रेष्ठ १ रन जोडे । यता विराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए ।

किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १-१ विकेट लिए ।  

यसअघि विराटनगर पहिलो खेलमा पोखरा पल्टनसँग ५८ रनले पराजित भएको थियो । जितपछि धनगढीले २ खेलबाट २ अंक जोडेको छ । धनगढी ब्लुज यसअघि पहिलो खेलमा काठमाडौं रोयल्ससंग १७ रनले पराजित भएको थियो । यता विराटनगरले भने लगातार दोस्रो हार बेहोरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?