‘छक्का पञ्जा ३’ ले तोड्यो आफ्नै फिल्मको रेकर्ड

काठमाडौं । यस वर्षको घटस्थापनाको दिनदेखि सार्वजनिक भएको चलचित्र ‘छक्का पञ्जा ३’ ले १६ करोडको ग्रस कलेक्सन गर्दै आफ्नै रेकर्डलाई तोडेको छ । फिल्मका निर्माता समेत रहेका कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबूकमा स्टाटस लेख्दै ‘छक्का पञ्जा’ को रेकर्ड तोडेको बताएका हुन् ।

दीपक र दीपाले फेसबूकमा स्टाटस लेख्दै भनेका छन्, ‘छक्का पञ्जाले १२८ दिनमा प्राप्त गरेको लक्ष्य ‘छक्का पञ्जा ३’ ले केवल १७ दिनमा नै उक्त उपलब्धि हासिल गरेको छ, बधाई सबै कलाकार तथा प्राविधिक साथीहरु, धन्यवाद दर्शक, जय नेपाली सिनेमा ।’

रेकर्ड तोडेको बताए पनि दीपक दीपाले रकम भने उल्लेख गरेका छैनन् । बरु दीपकराज गिरीले केही दिनअघि स्टाटस लेखेर यसपटक करोडको कुरा नगर्ने बताएका थिए ।

अहिले पनि ‘छक्का पञ्जा ३’ मल्टिप्लेक्स र अन्य हलमा चलिरहेको छ । योसँगै रिलिज भएको अर्को चलचित्र ‘जय भोले’ ले भने औसत व्यापार गरेको बताइएको छ ।

‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् भने चलचित्रको कथा दीपकराज गिरीले लेखेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?