काठमाडौं-७ मा कांग्रेसको निर्णायक मत : मानुषीलाई सघाउला कि रामवीरलाई गुन तिर्ला ?

निर्वाचन विशेष

चर्चा गरिने र चासोका साथ हेरिने निर्वाचन क्षेत्र मध्येमै पर्छ काठमाडौं क्षेत्र नं ७ । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि यस क्षेत्रमा गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ ।

यहाँ लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई चुनावी प्रतिस्पर्धामा छिन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका श्यामकुमार घिमिरे र जनता समाजवादी पार्टीबाट राजेन्द्र कुमार श्रेष्ठ छन् ।

यता एमालेले टिकट नदिएपछि रामवीर मानन्धरले बागी उम्मेदवार (स्वतन्त्र)को रुपमा प्रस्तुत भएका छन् । मानन्धर सो क्षेत्रका निवर्तमान सांसद समेत हुन् । त्यसैले उनी पनि यो क्षत्रमा बलिया उम्मेदवार हुन् ।

त्यसैले यहाँ १६ स्वतन्त्रसहित २९ जना उम्मेदवार चुनावी महासंग्राममा होमिएका छन् ।

काठमाडौं–७ काठमाडौं महानगरको वडा नं १६, १७, १८, २५, तारकेश्वर नगरपालिकाको वडा नं ३, ४ र ५, त्यस्तै नागार्जुन नगरपालिकाको वडा नं १, २ र ३ मिलेर बनेको छ । जहाँ ३९ हजार ९ सय ४४ जना मतदाता रहेका छन् ।

एमालेलाई पकड क्षेत्र गुम्ने डर !

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये एमालेले ७ लाई आफ्नो पकड क्षेत्रको रुपमा लिँदै आएको छ । यद्यपि, टिकट बाँडफाँटमा देखिएको तिक्तताले भने एमालेले यो क्षेत्र गुमाउन सक्ने धेरैको आँकलन छ ।

०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हिसिला यमीले जितेपनि त्यसअघि र यताको निर्वाचनमा भने सधैँ एमालेले जित्दै आएको क्षेत्र हो । ०७० र ०७४ को निर्वाचनमा एमालेबाट रामवीर मानन्धरले नै पासा पल्टाएको क्षेत्र हो, यो । यो क्षेत्रमा मानन्धर राम्रो जनाधार भएको नेताका रुपमा समेत परिचित छन् । यद्यपि, पार्टीले उनलाई पन्छाएर घिमिरेलाई टिकट दिएसँगै यहाँका एमाले रुष्ट छन् । त्यसैले एमालेको मत विभाजन हुने निश्चित छ ।

यता गठबन्धनबाट यो क्षेत्र माओवादी केन्द्रको भागमा परे पनि यहाँ माओवादीको प्रभाव निकै कम छ । उसो त भट्टराईलाई जित निकाल्न नेपाली कांग्रेसका मतदाताको आशिर्वाद लाग्नुपर्ने देखिन्छ ।

उनको व्यक्तिगत प्रभाव र मावली पनि यही क्षेत्रमा पर्नुले सहानुभूतीको भोट प्राप्त गर्न सक्छिन् । साथै, उनका पिता डा. बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री भएका बेला सो क्षेत्रमा गरेका विकास निर्माणका कामले पनि मानुषीका पक्षमा भोट खस्न बल पुग्ने धेरैको आँकलन छ ।

यता जसपाका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठको पहिला जस्तो प्रभाव छैन । ०६४ अघिका निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधित्व गरेपनि पार्टी परिवर्तनका कारण उनको प्रभाव क्रमैसँग घट्दैछ भने अर्कोतर्फ उनी आवद्ध पार्टी जसपा यो क्षेत्रमा निकै कमजोर छ ।

यता नेकपा एमालेका उम्मेदवार घिमिरे पुराना राजनीतिज्ञ भएपनि त्यति प्रभाव राख्ने उम्मेदवारभित्र पर्दैनन् । त्यसैले एकातर्फ बागी उम्मेदवार र अर्को तर्फ गठबन्धनका कारण उनले जित निकाल्ने निकै कसरत गर्नुपर्ने देखिन्छ ।

स्थानीय मत परिणामले के भन्छ ?

स्थानीय निर्वाचनको मत परिणामको आधारमा सो क्षेत्रमा वडाध्यक्षले प्राप्त गरेको मतलाई एकीकृत गर्दा नेपाली कांग्रेस अघि छ । जहाँ १४ हजार १ सय ६७ मतसहित कांग्रेस पहिलो स्थानमा छ भने एमालेले १२ हजार २ सय २ मत प्राप्त गरेको छ । यता गठबन्धनमा आवद्ध दल एकीकृत समाजवादीको मत ३ हजार ८ सय ३९ छ । त्यस्तै राप्रपाको मत २ हजार २७, माओवादी केन्द्रले पाएको मत ५ सय ७६ र जसपाले पाएको मत १ सय ६२ मात्रै रहेको छ ।

यसरी मतको आधारमा कांग्रेस एक्लै अघि देखिन्छ । गठबन्धनमा आवद्ध दलको मत हेर्दा मानुषी बलियो दाबेदारको रुपमा देखिन्छिन् । तर, उनी उम्मेदवार बनेको दल माओवादी केन्द्रको मत भने धेरै झिनो छ । त्यसैले मानुषीको जित र हारको फैसला कांग्रेसको मतले गर्नेछ ।

यहाँ अर्को कुरा पनि छ । एमालेबाट रामवीरले टिकट नपाउनुको उनीमाथि स्थानीय निर्वाचनमा अन्तर्घात गरेको आरोप हो । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रामवीरले कांग्रेसका उम्मेदवारलाई सघाएको आरोप छ । यदि त्यो आरोप सही हो भने मंसिर ४ को निर्वाचनमा त्यस क्षेत्रका कांग्रेस नेताहरुले रामवीरलाई गुन तिर्न सक्छन् । जसले गर्दा मानुषीलाई संकट पर्ने देखिन्छ ।

कुन उम्मेदवारको राजनीतिक पृष्ठभूमी कस्तो ?

एमालेबाट उम्मेदवार बनेका घिमिरे पुराना कम्युनिष्ट नेता हुन् । ०३६ सालदेखि एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका घिमिरे शिक्षक संगठन, किसान संगठन, जिफन्ट हुँदै पार्टीको आन्तरिक राजनीतिमा सक्रिय हुँदै आए ।

यता गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी माओवादी केन्द्रको विभिन्न भातृ संगठनमा काम गरी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीको छोरी समेत रहेकी मानुषीलाई पारिवारिक राजनीतिक विरासतले नेतृको परिचित गराउन सघायो । विभिन्न राजनीतिक आन्दोलनमा समेत सक्रिय हुँदै आएकी मानुषी युवापुस्ताको प्रतिनिधि रहेको बताउँदै यतिबेला मतदाताको घरदैलोमा छिन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार रामवीर ०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षमा विजयी भएका थिए । त्यसैले उनलाई जनताको सुख दुःखमा भिज्ने नेताका रुपमा चिनिन्छ । वडाध्यक्षबाट शहरी विकास राज्यमन्त्रीसम्म भएका उनले आगामी निर्वाचनमा व्यक्तिगत भोट धेरै पाउने धेरैको आँकलन छ । उनलाई टिकट नदिएको कारण रुष्ट बनेका उनका समर्थकहरुको प्रभाव एमालेको विरुद्ध रहने देखिन्छ ।

यसैगरी, एमालेबाट ०५६ को निर्वाचनमा संसद छिरेका श्रेष्ठ ०६४ को संविधान सभा निर्वाचनमा पराजित भए । त्यसपछि एमाले छोडेर अशोक राईको नेतृत्वमा खुलेको संघीय समाजवादीमा गए । अहिले उनी जसपामा छन् । राजनीतिक दलबदलले गर्दा उनको राजनीतिक साख पहिले जस्तो छैन ।

त्यसैले काठमाडौं ७ का उम्मेदवारहरुको राजनीतिक पृष्ठभूमी र दलभित्रको आन्तरिक किचलोले यहाँको मत परिणामबारे आँकलन गर्न कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?