प्रज्ञा–प्रतिष्ठानले मनायो महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती

लोकपथ
52
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ । शुक्रवार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो । कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए । उनले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्षलगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गरेको बताए।

त्यस्तै त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस र कमर्स क्याम्पसमा प्राध्यापन गराएको पनि उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको नेपालको भनाइ छ ।

कवि नेपालले महाकवि देवकोटाले वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गरेको भन्दै उनले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गरेको बताए । नेपालले देवकोटाको सम्झनामा कविता वाचन पनि
गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेखेको अन्तिम कविता वाचन गरेर सुनाइन्। उनले देवकोटाले मानवतावादी धारमा कविता लेख्ने गरेको उल्लेख गरिन् ।

महाकवि देवकोटाले लेखेका कविता वाचन गरेर कवि रेजिना चापागाईंले पनि उनिप्रति सम्मान व्यक्त गरिन।

महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दवसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?