सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड

लोकपथ
39
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ बराबर रहेको थियो । त्यस्तै, भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा २ दशमलव २ प्रतिशतले कमी आई भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र सात दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

यही अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?