मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ हो : प्रचण्ड

RSS
39
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचन सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् ।

लोकतान्त्रिक–बाम गठबन्धन काठमाडौं क्षेत्र नं ७ ले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, ‘ठूलो संघर्षबाट प्राप्त भएको लोकतन्त्रको उपलब्धिको रक्षाका लागि प्रष्टसँग उभिनु जरुरी छ ।’ नेपाली कांग्रेस र वामपन्थी शक्तिको एकता र सहकार्यबाटै २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको र पञ्चायती तानाशाहीको अन्त्य भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए ।

राजनीतिक उपलब्धिको रक्षाका लागि तयार भएको गठबन्धनले यस निर्वाचन क्षेत्रको भावना बुझ्ने गरी उम्मेदवारी दिइएकाले सफल हुने विश्वास उनले व्यक्त गरे । उनले संघीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई आफ्नो काम इमान्दार रुपमा पूरा गराउन सक्ने विशेष क्षमता व्यक्ति भएको धारणा व्यक्त गरे ।

काठमाडौँ–७ का मतदाता सचेत भएको भन्दै उनले नेवार समुदायको कोर एरिया भएकाले पनि परिवतर्नको लक्ष्य र चाहनालाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो नेवार समुदायको कोर एरिया पनि हो । यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ७० वर्षदेखि लडेर स्थापित गरेको राजनीतिक मूल्य र मान्यताको रक्षाका लागि पनि गठबन्धनको विजय जरुरी रहेको बताए । उनले तत्कालीन माओवादी जनयुद्धले स्थापित गरेको राजनीतिक प्रणाली नै वर्तमान राजनीतिको मूलप्रवाह भएको बताए ।

उनले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि आफूहरुलाई सह्य नहुने धारणा राखे । पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राखे । उनले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ पूर्वविद्यार्थी नेता मानुषी यमी भट्टराई उम्मेदवार छन् । सो निर्वाचन क्षेत्रमा १६ स्वतन्त्रसहित २९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?