सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ : पौडेल

RSS
52
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । ‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन’, उनले भने ।

व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दीगो रूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ थियो ।

हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनले बताए ।

सो अवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश (क) का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए । वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसक्रममा उनले व्यास, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?