दुवै खुट्टा नभएर के भो ? म सँग दौडने आत्मविश्वास र साहस छ : कुशल लिम्बु

नेपाली समाजमा अहिले पनि अपाङ्गता भएका व्यक्ति विभिन्न कुराबाट अपहेलित हुँदै आइरहेका छन् । उनीहरुमाथि हेर्ने नजर शहरमा केही फरक पाइएतापनि गाउँघरतिर भने परिवर्तन आइसकेको छैन । अपाङ्ग व्यक्तिहरु शारीरिक रुपमा त अशक्त छँदैछ तर, मानसिक रुपमा पनि पीडित नै छन् । केही व्यक्ति जन्मजात नै अपाङ भएर जन्मन्छन् भने कोही दुर्घटना, युद्धका कारण शारीरिक रुपमा अपाङ्ग हुन्छन् । सपाङ्ग व्यक्ति एकाएक अपाङ्ग बन्दा अब जिन्दगीमा केही गर्न सकिँदैन् भन्दै मानसिक पिडामा पर्नु स्वाभाविक हो । तर, नेपालका एक साहसिक पारा एथ्लेटिक्स खेलाडीको साहसलाई देखेर अहिले सारा नेपालीहरु चकित छन् । 

‘के सोचे थे जिन्दगीमा के—के भए आज’ यो गितको शव्द ठ्याक्कै पारा एथ्लेट कुशल लिम्बुको जिवनसँग मिल्दो जुल्दो छ । नेपालमा जन्मिएपनि कर्मभुमि बेलायतलाई बनाएका उनी २५ वर्षकै कलिलो उमेरमा अपाङ्ग भए । बेलायती सेनाको रुपमा अफगानिस्तान टूर जाने क्रममा उनले आफ्नो दुवै खुट्टा गुमाउनु परेको थियो ।

‘म नेपालमा जन्मिएको हुँ, मेरो बुवा भारतीय सेनामा आवद्ध हुनुहुन्थ्यो, त्यसैले मैले पनि सेनामा भर्ती हुने इच्छा थियो, त्यहि अनुरुप म सन् २००२ मा बेलायती सेनामा भर्ती भए, मलाई सेनामा भर्ती हुन त्यस्तो खासै संघर्ष गर्नुपरेन’ उनले बताए । 

‘ट्रेनिङको बेला धेरै रमाइलो हुन्थ्यो, साथीभाईसँगै ट्रेनिङ ग-यो, बाहिर घुम्न जाँदा निक्कै रमाइलो गरिन्थ्यो, ‘फ्रेण्ड्ससिप इज ए वान फेमिली’ उनले लोकपथलाई भने । 

उनले भने, ‘मैले अफगानिस्तानको भ्रमण दुई पटक गरे, सन् २००३ मा पहिलो पटक अफगानिस्तान गए, त्यसपछि सन् २००८—२००९ को भ्रमणमा जाँदा म घाइते भए, त्यतिबेला म चढेको कारको ग्यास ट्याङकमा एक्कासी आगो लागेपछि मैले मेरो घुडादेखिको मुनि भाग सबै गुमाए ।’

‘जब घाइते भएर अस्पतालमा भर्ना भए, त्यतिबेला मैले आउँदो दिनमा के गर्ने भनेर सोच्नै सकेको थिएन्, मैले मेरो भविष्य नै अन्धकार भए जस्तो महशुस गरेको थिए’ लिम्बुले थपे । 
उनले एक सय मिटर, २ सय मिटर, फो इन्टू फो रिले दौडमा सफलता हात पारिसकेको छन् । सन् २०१४ मा लण्डनको ली भ्याली एथ्लेटिक सेन्टरमा आयोजना भएको इन्भिक्टिस गेम्समा उनले दुई स्वर्ण पदक जितेका थिए । 

‘पहिलो पटक च्याम्पियनसिपमा खेल्दा कस्तो होला भन्ने मनमा डर लागेको थियो, मैले पहिलो सहभागितामा नै स्वर्ण पदक जित्न सफल भए, त्यो मेरो जिवनको सबैभन्दा ठूलो खुसी थियो, म त्यो क्षण कहिल्यै बिर्सन सक्दिन्’ उनले लोकपथलाई बताए । 

उनले भने, ‘म सधै दौडन चाहन्छु, र म कलेजमा हुँदा पनि सबैभन्दा छिटो दौडिन्थ्ये, त्यतिबेला मैले कुनै प्रतियोगितामा दौडने मौका नै पाएन्, शल्यक्रियापछि मैले मेरो दुवै खुट्टा गुमाएपनि मैले दौडने मेरो रहर पूरा गरेर नै छाडे, दौडनलाई खुट्टा होइन आत्मविश्वास र साहश चाहिँदो रहेछ ।’   

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने पहिलो इन्भिक्टिस गेम्स खेल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘मेरो छोरी अहिले चार वर्षको भइन्, मेरो छोरीले मलाई कुनै घाइते बुवा नभएर एक सफल खेलाडी भनेर चिनोस् भन्ने मेरो इच्छा छ’ उनले बताए । 

कुशल प्रतिनिधि एक पारा खेलाडीमात्र हुन् । उनीजस्तै हजारौँ पारा खेलाडीहरुले आफ्नो देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रलाई पदक समेत दिलाइसकेका छन् । उनीहरु शारीरिक रुपमा अपाङ्गता भएपनि अरु खेलाडी सरह जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्नु त छदैछ एक सक्षम आत्मविश्वासी अभिभावक र खेडालीको परिचय बताउन सफल भइसकेका छन् । 

कुशल जस्ता नेपालका पारा खेलाडीहरुलाई प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन सके पक्कै पदकको आशा गर्न सकिन्छ की ?


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?