सबै संरक्षित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

लोकपथ
13
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । बिहीवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले प्राकृतिक श्रोत, साधनको संरक्षण, सम्वर्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताए । उनले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय विस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।

उनले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पुर्‍याउन सकिने बताए । प्रधानमन्त्री देउवाले प्रकृति एवम् जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पुर्‍याउने गरी काम गर्न आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए । उनले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मानिसको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले मानव–वन्यजन्तु द्वन्द हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन आवश्यक रहेको बताए । उनले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन पनि सम्बन्धित निकायलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन गरी आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटीकीय सेवाहरुको स्तरोन्नतीमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?