जनअपेक्षाअनुसार जनताका पक्षमा काम गर्नेछु : कमल शाह (अन्तर्वार्ता)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को चुनावी माहोल तातेको छ । राजनीतिक दलका उम्मेदवारले आफ्नो र दलको चुनावी एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् । उम्मेदवारले चुनाव केन्द्रित बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसलाई कैलाली–२ (क) मा प्रदेशसभा निर्वाचन क्षेत्र भाग परेको थियो । यहाँ प्रदेशसभामा कांग्रेस महासमिति सदस्य कमलबहादुुर शाह उम्मेदवार बनेका छन् । ०७० मा सोही क्षेत्रबाट प्रतिनिधि सभामा पराजित शाह यसपटक प्रदेशसभा सदस्यमा झरेका हुन् ।

प्रदेश सभामा यस क्षेत्रबाट ७ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल लोकतान्त्रिक पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभामा १२ वटा वडा पर्दछन् । लम्कीचुहा नगरपालिका अन्तर्गत वडा नम्बर १,२,३,४,५,७ मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ र ७ र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्दछन् । यहाँ प्रदेशसभामा कुल ५२ हजार ५८१ मतदाता रहेका छन् । जसमध्ये पुरुष २६ हजार ५३, महिला २६ हजार ५२८ मतदाता छन् ।

कैलाली २ (क) बाट प्रदेशसभाका उम्मेदवार शाह आगामी मंसिर ४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचन जित्न उनलाई कति सहज छ ? आगामी निर्वाचनमा शाहले जनतामाझ लिएका चुनावी एजेन्डा र प्रतिबद्दता के–के छन् ? प्रस्तुत छ, यी विविध समसामयिक विषयमा केन्द्रित भएर लोकपथकर्मी गोविन्द बीसीले प्रदेशसभा सदस्यका उम्मेदवार शाहसँग गरेको कुराकानीको सम्पादित अंश :

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एकातिर सत्तारुढ लोकतान्त्रिक–बाम गठबन्धन र अर्कातिर एमालेले पनि अन्य दलसँग चुनावी तालमेल गरेको छ । यसलाई कुन रुपमा लिनुभएको छ ?

लोकतान्त्रिक–बाम गठबन्धनका साथ यो निर्वाचनलाई जसरी राजनीतिक दलहरुले उम्मेदवार उठाएका छन् । यसको एउटै उद्देश्य छ, विकास र सम्वृद्धिका साथै लोकतन्त्र, संविधानको रक्षा र यो मुलुुकको समग्र हितका लागि यो गठबन्धन अगाडि बढेको छ । यही रुपमा मैले लिएको छु ।

म प्रदेशसभाको उम्मेदवार हुँदै गर्दा यहाँका विकास निर्माणदेखि लिएर धेरै कुराहरु छन् । जसलाई मैले भोलिका दिनमा सम्बोधन गर्नुपर्ने हुन्छ । जनताका चाहनाहरुलाई पनि पूरा गर्ने सन्दर्भमा म त्यो ठाउँमा पुगेपछि केही न केही गर्न सक्छु भन्ने मलाई विश्वास छ । त्यो आधारमा नै म अगाडि बढेको छु ।

आगामी चुनावमा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार भइरहँदा चुनावी माहोल कस्तो पाउनुभएको छ ?

चुनावी माहोल एकदमै राम्रो छ । लोकतान्त्रिक–बाम गठबन्धन कैलाली क्षेत्र नं. २ मा फराकिलो मतान्तरसहित विजयी हुन्छ ।

यसक्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव पनि देखिन्छ । अन्य राजनीतिक दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यो अवस्थामा चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

अरुको अवस्था के छ त्यो अरुले बुझ्ने कुरा हो । हामी निर्वाचन जित्नेमा ढुक्क छौँ । विश्वस्त छौँ । यस ठाउँका जनताको माया, साथ र समर्थन हामीसँग छ ।

तपाईले जनतामाझ लिएका तपाईका एजेन्डा तथा प्रतिबद्दताहरु के–के हुन् ?

यो निर्वाचन क्षेत्रमा विकास निर्माणका सन्दर्भमा पुलपुलेसा बाटोघाटोका सन्दर्भमा मसँग एक किसिमको खाका तथा कार्ययोजना छ । मैले यसक्षेत्रमा कृषि र पर्यटनमा अलि बढी जोड दिनेछु । कृषिमा रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर र आधुनिकीकरण र व्यवस्थित गर्ने सन्दर्भमा मेरो प्रमुख एजेन्डा हुनेछ ।

धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास र विस्तार, शैक्षिक सुधारका विषयलाई विशेष योजनाका साथ अघि बढाउँदैछु । औद्योगिकरणको विकास र विस्तार, लागुऔषध दुर्व्यसनी नियन्त्रणलगायत यिनै एजेन्डा लिएर म जनतामाझ गएको छु ।

तपाईले आगामी निर्वाचन जित्ने आधारहरु के–के छन् ?

मैले सामाजिक कामहरु गरेको छु । विकास निर्माणमा उभिएको छु । राजनीतिक रुपमा लामो समय व्यतित गरेको छु । मैले कुनैपनि क्षेत्रमा गएर व्यक्तिगत लाभ हुने गरी आर्जन गरेको छैन यी सबै कुराहरु यहाँको जनता, मतदाताले बुझ्नुभएको जस्तो मलाई लाग्छ ।

त्यसैले, मलाई यसपटक जनताले विश्वास गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु, ढुक्क छु । जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरामा म सचेत र जिम्मेवार छु । आम नागरिकलाई सुशासन प्रत्याभूत गराउनेछु । प्रदेश र मातहतका क्षेत्रमा कुनैपनि भ्रष्टाचार र अनियमिता हुन दिने छैन ।

सामाजिक न्याय र समुन्नत विकासका लागि मैले काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु । यी आधारमा मलाई जनताले विश्वास गर्नुहुनेछ र म निर्वाचन जित्छु ।

तपाईंको निर्वाचन क्षेत्रमा देखिएका समस्याहरू र गौरवका आयोजनाहरु के–के छन् ? जो चाहिँ यसअघि पूरा हुन सकेका छैनन् ।

मेरो प्रदेशका केही ठाउँहरुलाई सेतीलोकमार्गले पनि छोएको छ । यसलाई सम्पन्न गर्ने, अगाडि बढाउन म लाग्नेछु । त्यस्तै, लम्की–टीकापुर खक्रौला रोडको काम पनि अधुरै छ । ठेक्कापट्टा भएपनि काम हुन सकेको छैन, रोकिएको छ ।

यसको निर्माण प्रक्रियालाई जोड दिनेछु । डुँडेझारी सडक पनि अहिलेसम्म पूर्णरुपमा सम्पन्न हुन सकेको छैन, वनले पनि अवरोध गरेको अवस्था छ । यसलाई पनि डुँडेझारी–टीकापुर पक्की बाटोका रुपमा स्तरोन्नति गरिनेछ ।

बल्चौर–खैरीफाँटा–जगतपुर हुँदै टीकापुर जोड्ने क्रेसरमार्ग, सडकमार्ग निर्माण विशेष रुपले प्राथमिकता दिएर अगाडि बढाउने योजना लिएको छु । चिसापानीदेखि बढिगाउँ, कुहिने, सोल्टा र खिमडीसम्म लैजाने योजना छ । यसलाई पनि सम्पन्न गर्ने कुरामा लाग्नेछु ।

यसक्षेत्रमा पर्ने मोहन्यालमा अझैपनि सडक पूर्वाधार, बिजुली र सञ्चारको पहुँचबाट जनता टाढा छन् । तपाईले यी समस्या समाधान गर्न के–कस्तो पहल गर्नुहुन्छ ?

यहाँको समस्याबारे सबै जानकार छन् । यसअघिका धेरै सांसदहरु विभिन्न वाचाबन्धनका साथ अगाडि आएका थिए तर, निर्वाचित जनप्रतिनिधिले यी कामहरु गर्न सकेनन् । म निर्वाचित भएँ भने तपाईंहरुले फरक पाउनु हुनेछ ।

चाहे विकासका सवालमा होस्, चाहे विद्युतीकरणका सवालमा होस् । जनअपेक्षाअनुसार जनताका पक्षमा, जनताका लागि काम गर्नेछु । जनताले मलाई अरुभन्दा फरक पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?