कहिले काहीँ कांग्रेस ३ वटा पार्टी जस्तो लाग्छ : नारायणकाजी श्रेष्ठ

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् ।

बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको बताए ।

अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आवद्ध भएको, जनयुद्ध सुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकिकरण गर्ने थलो गोरखा भएको लगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बनेको उनले स्पष्ट पारे । त्यस्तै समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोजेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्र आफू र अध्यक्ष दाहालबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरु असाधारण एकतामा रहेको स्पष्ट पारे । एक अर्काको पक्षधर लिएर गालि गर्ने काम नगर्न उनले चेतावनी दिए । पार्टी भित्र रहेका गुट, उपगुटलाई अन्त्य गर्न आफूहरु लागिपरिरहेको पनि उनको भनाइ छ ।

श्रेष्ठले विगतमा एमसीसी पारित नगर्न सघाउने शर्तमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको दाबी गरे । उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको अफरसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भएपनि ओलीले सो प्रस्ताव अस्वीकार गरेको उनको जिकिर छ । चुनावमा वाम तालमेलको प्रश्तावपनि ओलीबाट अस्वीकार भएको उनले उल्लेख गरे ।

उनले चार पार्टीको गठबन्धन भएपनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरेका छन् । कांग्रेसभित्र शेरबहादुर देउवाको अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोईरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको यनले बताए ।

गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उनले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पारे । यद्यपी सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति र गठबन्धन एकतावद्ध भएर जानुपर्ने बताए । गठबन्धनलाई जिताउन सक्रियतापूर्वक लाग्न उनले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?