मौलिक बाजा संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा

लोकपथ
26
Shares

काठमाडों । सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् । विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे ।

विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताएका छन् ।

उनले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको जानकारी दिए। उनले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताएका छन् ।

कुरुले नेपाली मादललाई अन्तराष्ट्रिय बजारमा पु¥याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताए । उनले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गरेका छन्।

उनले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने पनि बताए । उनले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्ने गरेको बताएका छन् । कुरुकाअनुसार मादल बनाउन प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै हो।

त्यस्तै, अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताए। उनले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भएपनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको जानकारी दिए।

उनले नेपाली मादलकोसमेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको बताए । उनले सरकारले नेपाली मौलिक बाजा मादललाई संरक्षण गर्नेको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ । पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?