‘पीपीएल’ क्रिकेट : पोखरा पल्टनको विजयी शुरुवात, विराटनगर टाईटन्स पराजित

पोखरा । पोखरा पल्टनले जारी ‘पीपीएल’ क्रिकेट च्याम्पियनसिपमा विजयी शरुवात गरेको छ । 

पोखरा रंगशालामा शुक्रवार भएको उद्घाटन खेलमा घरेलु टोली पोखराले विराटनगर टाईटन्सलाई ५८ रनले हराउँदै प्रतियोगितामा सुखद शुरुवात गरेको हो । १ सय ९८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको विराटनगरको पारी निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ३९ रनमा समेटिएको थियो ।

विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०-३० रनको योगदान दिए । त्यस्तै एन्ड्रयु शुबिकशनले १४ रन तथा कप्तान सन्दीप लामिछानेले नटआउट १४ रन जोडे । यता पोखराका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिन सफल भए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो । पोखराका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ५२ बलमा ५ चौका र १ छक्काको मदतमा ५२ रन जोड्न सफल भए ।  

भारतीय खेलाडी रबि इन्दर सिंहले ४४ रनको योगदान दिए ।  विनोद भण्डारीले अविजित ४१ रन, कुशल भुर्तेलले ३८ रन तथा कप्तान शरद भेषवाकरले अविजित ७ रन जोडे ।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट तथा शाहब आलमले १ विकेट लिएका थिए । जितपछि पोखरा पल्टनले महत्वपूर्ण २ अंक जोडेको छ । खेलमा पोखराका विनोद भण्डारी म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भोली ‘शनिवार’ चितवन राइनोज र बुटवल ब्लास्टरबीच पहिलो तथा काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजबीच दोस्रो खेल हुनेछ ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ हात पार्नेछ ।  प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?