उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ। 

काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।  उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । 

काठमाडौँ महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड लगानीमा बस भित्र्याउन लागिएको हो ।

व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।”यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महीनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ । 

देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा बढी छ । साझामा ९० प्रतिशतभन्दा बढी शेयर सरकारी र स्थानीय निकायको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीयवासीलाई सेवा दिन साझाको शेयर खरिद गरिरहेको व्यवस्थापक पाण्डेयले बताए । 

उनले भने, “स्थानीय निकायले साझामा केही लगानी गर्ने र आफ्नो क्षेत्रमा साझाका बस गुडोस् भन्ने चाहिरहेका छन् ।” काठमाडौँ र ललितपुर महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिकालगायतले साझाको शेयर खरिद गरेका छन् ।

उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस चलेका छन् । लामो दूरीमा काठमाडौँबाट बाग्लुङ र कुस्मासम्म बस सञ्चालनमा छ । केही महीना पहिलेदेखि अपाङ्गमैत्री बससमेत सञ्चालन गर्दै आएको साझाले 'ई' टिकट शुरु गरिसकेको छ । 

वि.स.२०१८ मा शुरु भएको साझाको सेवा लामो समयसम्म ठप्प भएपछि वि.स. २०७० बाट फेरि सुविधा सम्पन्न बससहित सेवा सञ्चालनमा ल्याएको थियो । धेरै यातायात कम्पनीले साझाले जस्तै यात्रुलाई सुविधा दिने गरी सेवा चलाएका छन् ।

साझा यातायातको व्यवस्थापनमा मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बससमेत शुरु गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?