राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई महानगरको सम्मान

लोकपथ
39
Shares

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन् ।

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कास्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

स्वर्ण पदक विजेतालाई व्यक्तिगत प्रति पदक नगद १५ हजार रुपैयाँ तथा समूहमा सहभागी प्रति खेलाडी नगद ५ हजार, कास्य पदक विजेतालाई व्यक्तिगत प्रति पदक १० हजार रुपैँया तथा समूहमा सहभागी प्रति खेलाडी नगद ५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद पाँच हजार रुपैँयाका दरले सम्मान गरिएको हो ।

हलसम्म पुरुष ह्यान्डबल (समूह), फुल कन्ट्रयाकट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै, फुल कन्ट्रयाकट करातेकै रूपक नेपाली र शिव भुजेलले कास्य पदक प्राप्त गरेका छन् ।

विभिन्न खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

खेलकै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे । खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मानहरू आवश्यक हुने तर्कसमेत उनले गरे ।

पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उनले विश्वास दिलाए । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?