पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छ : सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन् । 

क्विन्स इभेन्ट्सको आयोजनामा शुक्रवारदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै सभामुख महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए । 

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पुर्‍याउने सभामुख महराले बताए । नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको उनले उल्लेख गरे । 

स्वस्थ्य खेलबाट स्वस्थ्य जनशक्ति तयार गर्ने र यसको बहुआयामिक महत्व रहेको बताउँदै सभामुख महराले प्रतियोगी टिमलाई विजय हासिल गर्न शुभकामना समेत दिए ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने जानकारी दिए ।

 प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उनले बताए । 

खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उनले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताए । 

प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको रमणीय वातावरणले देशी विदेशी खेलप्रेमीलाई लोभ्याउने बताए । 

प्रदेशसभा सदस्य दीपक कोइरालाले यस किसिमका प्रतियोगिताले पोखराको आर्थिक गतिविधि पनि बढाउने विश्वास व्यक्त गरे । 

आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले यो प्रिमियर लिग नेपालमा आयोजित हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता भएको बताए। प्रतियोगितालाई लक्ष्य गरी तीन महीनादेखि पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ ।

व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने जनाइएको छ । 

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्नेछन् । पिपएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार  १५ हजार ५ सय प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुविसुको प्रिमियम प्याकेज प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ वटा टिम सहभागी छन्। प्रतियोगितालाई लक्ष्य गरी लगभग चार हजार ५ सय सिट क्षमताको प्याराफिट बनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?