नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घट्न सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि पर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताएका छन् ।

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले १ सय १० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?