कर्णाली प्रदेशमा देखिएको हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग

लोकपथ
13
Shares

काठमाडौं । कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठसँग भेटगरी सो माग गरेको हो ।

त्यसैगरी, टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरुसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए ।

केही दिन अघिको वर्षात्का कारण सडक बाटोको सञ्जाल, विद्युत र टोलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्था छ । पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भईरहेका बेला हवाई सेवासमेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासोसमेत गरेका छन् । उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको बताएका छन् ।

यता, मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी २ वटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिएका छन् । उनले निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासनसमेत दिएका छन् । पूर्वमन्त्री भण्डारीले भने निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नु परेकाले सो समस्या पनि समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको बताए ।

यस अघि गृह मन्त्रालयले पनि केही दिन अघि आएको वर्षात्का कारण अवरुद्ध सडक सञ्जाल, विद्युत र टेलिफोन सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?