सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम ताम्राकार पार्टि भेन्यु पनौतीमा सम्पन्न गरेको छ । धितोपत्र नियमन निकायको अन्तराष्ट्रिय संस्था (आईओएससिओ)को आव्हानमा २०७९ असोज २६ गते देखि कार्तिक १ गतेसम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशव्यापी रुपमा सचेतना कार्यक्रम गर्दै आएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा सञ्चालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख अञ्जु महर्जनले सेयर बजार सम्बन्धि बेसिक,फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएका थिए । साथै, धितोपत्र बजारमा जोखिम रहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरु दिए । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको ब्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिए ।

लगानी गर्ने तिब्र ईच्छा भएर पनि समय र ज्ञानको अभाव भएमा क्यापिटलले लगानी ब्यवस्थापन गरिदिने जानकारी दिए । क्यापिटलका वित्त ब्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पारिन । श्रेष्ठले हितग्राही खाता सञ्चालन, सेयर अभौतिकरण तथा लगानी ब्यवस्थापन सम्बन्धमा क्यापिटलबाट निःशुल्क परामर्श तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दे आएको जानकारी दिईन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो सेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी व्यवस्थापनमा समेत बैंकको शाखामार्फत सहजिकरण गरिने जानकारी दिए ।

कार्यक्रममा सेयर लगानीकर्ता, बैकर्स, उद्योगी, ब्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंक पनौती, बनेपा,नाला,साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम,वर्कसप तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?