दुई कोरियाली प्रशिक्षकले सफ्ट टेनिस खेलाडीलाई प्रशिक्षण दिदै

काठमाडौं । नेपाल सफ्ट टेनिस संघले दुई कोरियाली प्रशिक्षक चोई चोङ्ग रियूल र पाएक ह्युन सिक् दुई महिनाको प्रशिक्षणका लागि नेपाल ल्याएका छन् । 

आउँदो नोभेम्बर १८ देखि २५ सम्म दक्षिण कोरियाको सन्चन सहरमा आयोजना हुने तेश्रो विश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र  भारतको गुजरातमा आगामी जनवरी ९ देखि १३ सम्म हुने प्रथम दक्षिण एशियन सफ्ट टेनिस च्याम्पियनसिपलाई मध्यनजर राख्दै खेलाडीहरुलाई विशेष प्रशिक्षण दिन दुई कोरियली प्रशिक्षकलाई नेपाल ल्याएको संघका उपाध्यक्ष विनय विक्रम शाहले जानकारी दिए । 

नेपाल सफ्ट टेनिस संघको अनुरोधमा कोरियन सफ्ट टेनिस संघले अन्तराष्ट्रिय प्रशिक्षकद्वयलाई नेपाल पठाएको पनि उनले बताए । 

शाहका अनुसार सफ्ट टेनिस संघको पहलमा हाल नौलिन स्पोर्टस् भिल्ला सुन्दबस्ती, गोल्फुटारको टेनिस कोर्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई बिहान ७ देखि ९ र नयाँ खेलाडीहरुको लागि ३ देखि ५ बजे सम्म प्रशिक्षण दिइ रहेका छन् । 

दुई महिना बसाईको क्रममा कोरियाली प्रशिक्षकहरुले काठमाण्डौ लगायत बिराटनगर, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिने उनले शाहले बताए । 

यस प्रशिक्षण कार्यक्रमले नेपाली खेलाडीहरुको खेल स्तर बढ्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक हासिल गर्न मद्धत पुग्ने अध्यक्ष शाहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?