बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरु बन्द गछौँ : हान

लोकपथ
14
Shares

काठमाडौं । होटल संघ नेपाल (हान)ले बैंकको सावा र ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा र ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा र ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा र ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । सोमवार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको सावा तथा ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताएका छन्। उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

उपाध्यक्ष साहले विगतको भन्दा होटलहरु सामान्य सुधार भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले अहिले पनि होटलहरु दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावा र ब्याज तिर्न दबाब दिइरहेको बताए।

उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरुले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरुमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरु बन्द गर्नुपर्ने चेतावनी दिए । उनले होटलहरुलाई तिर्नुपर्ने सावा र ब्याज तिर्दै नतिर्ने व्यवसायीहरुले नभनेको भन्दै बैंकहरुलाई सावाँ र ब्याज तिर्ने तर समय दिनुपर्ने बताए ।

उनले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनैपनि हालतमा बैंकलाई सावाँ र ब्याज बुझाउन असक्षम रहेको बताए । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए।

साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तिब्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको बताए ।

उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने बताए । उनले अहिले बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?